४ करोडको स्याउ एउटै बगैंचामा

लमजुङ — मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङको एउटा स्याउबारीमा करिब ४ करोड रुपैयाँ बराबरको स्याउ फलेको छ । समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइको उक्त स्याउबारीमा यस वर्ष ४ सय टन स्याउ फलेको छ ।एग्रो मनाङले ४ सय ५० रोपनीमा स्याउ फलाएको हो । फलेको स्याउमध्ये ठूला र मझौला दाना ३ सय ५० टन बजारमा बिक्री गरिएको छ । उक्त बगैंचामा इटाली र सर्भियाबाट गाला, गोल्डेन, फुजी जातका हिमाली क्षेत्रमा हुने ‘हाइडेन्सिटी’ स्याउका बोट ल्याएर खेती गरिएको छ ।

एग्रो मनाङका अध्यक्ष समराज गुरुङका अनुसार गाला स्याउ प्रतिकिलो १ सय ५०, ठूला दाना फुजी स्याउ प्रतिकिलो १ सय ७०, मझौला प्रतिकिलो १ सय ३०, गोल्डेन ठूलो दाना प्रतिकिलो १ सय २० र मझौला दाना प्रतिकिलो १ सय रुपैयाँमा बिक्री भएको छ । सानो दाना जुस र चिप्सको लागि प्रयोग गरिएको छ । ३ सय ५० मेटन स्याउलाई कम्तीमा प्रतिकिलो १ सय २० रुपैयाँमा बिक्री गरिँदा ४ करोड २० लाख पुग्ने उनले बताए ।कान्तिपुरमा खबर छ ।उनका अनुसार भ्राताङको स्टोर्समा चिप्स र जुसका लागि ४० टन स्याउ राखिएको छ । सबै स्याउ बिक्री भइसकेको उनले बताए । ‘अब माघ–फागुनमा स्याउको माग बढ्छ । हामीले बजारको माग पुर्‍याउन सकेका छैनौं,’ अध्यक्ष गुरुङले भने । उनका अनुसार बाँकी २ सय ८५ रोपनीमा स्याउ खेती गर्ने तयारी भइरहेको छ ।

एग्रो मनाङले माथिल्लो मनाङको तत्कालीन ७ गाविस ९हाल मनाङ ङिस्याङ गाउँपालिका० को सगोलमा रहेको जग्गा भाडामा लिएर स्याउ खेती गर्दै आएको छ । मनाङ मर्स्याङ्दी क्लबको आयस्रोत बढाउन उपलब्ध गराएको उक्त जग्गालाई एग्रो मनाङले टेन्डर प्रक्रियाबाट ४ वर्षअघि २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी लिएको थियो । दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फार्म भनेर दाबी गरिएको उक्त स्याउ फार्ममा मात्रै २५ करोड लगानी रहेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार हिमालयन फ्रेस र फार्म हाउसमा १० करोड रुपैयाँ लगानी छ । ‘हिमालयन फ्रेस’ स्याउको ब्रान्ड हो । यही स्टिकर टाँसेर स्याउलाई बजारमा पठाउने गरिएको एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङले बताए ।

उनका अनुसार स्याउलाई काठमाडौंमा बिक्री गरिएको छ । मुस्ताङ, जुम्ला, रसुवा, गोरखा लगायत जिल्लामा ‘हाइडेन्सिटी’ स्याउको परीक्षण भइसकेको उनले बताए । ‘नेपालमा न्युजिल्यान्ड, अमेरिकाबाट समेत स्याउ आउँछ । अब ती ठाउँबाट ल्याउने होइन, ती ठाउँमा हाम्रो स्याउ निर्यात गर्ने योजना सरकारको हुनुपर्छ’ उनले भने । हाइडेन्सिटी स्याउ खेती महँगो भएकाले यसलाई सरकारले नै लगानी गर्नुपर्ने उनले बताए ।एग्रो मनाङका संस्थापक प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियाबाट बेर्ना ल्याएर स्याउ रोपेका हुन् । २ वर्ष हुर्किएको स्याउका बोटले रोपेको ६ महिनामै फल दिएको थियो । गत वर्ष करिब ३ सय टन स्याउ फलेको थियो । यस वर्ष नार्पाभूमि गाउँपालिकाको मेतामा यस वर्ष स्याउ रोप्ने योजना अघि सारेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९स्याउ जोन० इकाइ कार्यालय मनाङका प्रमुख कृषि अधिकृत राजेश्वर सिलवालले बढी, राम्रो, ठूलो फल दिने भएकाले किसान हाइडेन्सिटी स्याउतर्फ आकर्षित भएको बताए ।

उनका अनुसार यसप्रकारको स्याउलाई बढवा दिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ खुमलटारले मनाङमा मात्रै २५ हजार बिरुवा वितरण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । मनाङमा यस वर्ष ९ सय १६ टन स्याउ उत्पादन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *